स्वदेशमै शिक्षा र अवसरको खोजी: कोर्नर टेकको दोस्रो वार्षिकोत्सव विशेष
बुटवल । पछिल्ला वर्षहरूमा प्लस टु पछि उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । विदेशमा पढाइसँगै कमाइको अवसर पाइने बुझाइका कारण धेरै विद्यार्थीले स्वदेशमै उपलब्ध सम्भावनालाई नजरअन्दाज गर्ने गरेका छन् । यस्तै सन्दर्भमा विद्यार्थीलाई स्वदेशमै रहेका अवसरबारे जानकारी गराउने उद्देश्यले बुटवलमा शिक्षा एक्स्पो आयोजना गरिएको छ ।
उक्त शिक्षा एक्स्पो Cornor Tech को दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष रूपमा आयोजना गरिएको हो । एक्स्पोमा शैक्षिक संस्थासँगै प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिँदै Cornor Tech ले जिल्ला स्तरीय रोबोटिक्स प्रतियोगिता समेत सम्पन्न गरेको छ । प्रतियोगितामा १५ भन्दा बढी टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
रोबोटिक्स प्रतियोगितामा "Team Glacier" विजयी
प्रतियोगितामा नेपथ्य कलेजको “Team Glacier” प्रथम हुन सफल भएको छ । विजेता टोलीले नगद २० हजार रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगिताले विद्यार्थीमा प्रविधिप्रतिको रुचि बढाउनुका साथै व्यवहारिक सीप विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
एक्स्पोमा विभिन्न कलेज तथा शैक्षिक संस्थाहरूले आफ्ना कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति तथा ‘पघ्दै–कमाउँदै’ जस्ता अवसरबारे जानकारी दिएका थिए । करिब पन्ध्र सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा इञ्जिनियरिङ, सूचना प्रविधि, व्यवस्थापन, स्वास्थ्य विज्ञान लगायतका क्षेत्रका अवसरहरू प्रस्तुत गरिएको थियो ।
यस्ता कार्यक्रमहरूले विदेशमुखी सोचलाई परिवर्तन गरी स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने आयोजकको विश्वास रहेको छ । कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले स्वदेशमै गुणस्तरीय शिक्षा र करियर निर्माणका पर्याप्त सम्भावना रहेको अनुभव गरेको बताएका छन् ।

